नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेश टिमलाई फेन्सिङ खेल सामग्री प्रदान

जनसम्मत
असाेज २२, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ६ दिनमात्रै बाँकी छ।

राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा फेन्सिङ संघ, कास्कीले गण्डकी प्रदेशको फेन्सिङ टिमका खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेशकुमार गुरुङ र संघका अध्यक्ष विजय शाईले शनिबार पोखरा रंगशालामा खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका हुन्। उनले करिब ३ लाख ७० हजार मूल्य बराबरको खेल सामग्री हस्तान्तरण गरेका हुन्।

खेलसामग्रीको हिसावमा महंगो पर्ने फेन्सिङ खेलका लागि अत्यावश्यक इलेक्ट्रोनिक्स स्वुर्ड, इलेक्ट्रोनिक्स ज्याकेट, इलेक्ट्रोनिक्स वायर, मास्क, ग्लोभ्स, ब्लेडलगायतका सामग्रीहरु हस्तान्तरण गरेको शाईले बताए।

अध्यक्ष शाईको पहलमा रकम संकलन गरेर फेन्सिङ खेलसामग्री खरिद गरी खेलाडीलाई प्रदान गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत करिब २३ हजार संकलन भएको शाईले बताए।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि गण्डकी प्रदेश टिमले ३ महिना अघिदेखि प्रशिक्षण थालेको शाईको भनाई छ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य गुरुङले गण्डकी प्रदेश फेन्सिङ टिमलाई ५० हजार नगद प्रदान गर्ने घोषणा गरेका छन्। उनले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन्।

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेल पर्सि असोजको २४ गतेदेखि २८ गतेसम्म पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा हुने खेलतालिका र भेन्यू तोकिएको छ।

प्रतियोगितामा ५ प्रदेश तथा नेपाली सेना र सशस्त्रको एपीएफको २ विभागीय गरी ७ टिमले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा मधेश र कर्णाली प्रदेश, विभागीयमा नेपाल पुलिस र एनआरएनएको सहभागिता नरहने फेन्सिङका राष्ट्रिय प्रशिक्षक कार्कीले बताए।

प्रशिक्षक कार्कीका अनुसार आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला/पुरुषतर्फ इन्डिभिज्युअल र टिम इभेन्ट गरी १२ स्वर्ण, १२ रजत र २४ काँस्य पदकका लागि प्रतिस्पर्धा हुने कार्कीले जानकारी दिएका छन्। प्रशिक्षक कार्कीका अनुसार महिला/पुरुष दुबैतर्फ फयल, ईपी र सेभरको क्याटागोरीमा फेन्सिङको इन्डिभिज्यूअल र टिम इभेन्टको प्रतिस्पर्धा हुनेछन्। प्रत्येक टिममा महिला/पुरुष दुबैतर्फ १२/१२ जनाको २४ जना खेलाडीहरु रहने प्रशिक्षक कार्कीले जानकारी दिएका छन्।

हालसम्मको फेन्सिङ खेलको प्रतियोगिताहरुमा विभागीय आर्मी, सशस्त्र प्रहरी बलको एपीएफको प्रदर्शन उत्कृष्ट रहने गरेको छ। प्रदेशहरुमध्ये बागमती प्रदेशको प्रदर्शन राम्रो रहने गरेको छ।