कोजाग्रत पूर्णिमा, आज दशैंको समापन गरिदैं

 आजका दिन पोखराको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ

जनसम्मत
असाेज २३, २०७९, आइतबार

आज आश्विन शुक्ल पूर्णिमाका दिन।

अर्थात, दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ।

प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।

आजका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ।

माता दुर्गाका ३ वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनबाट समाप्त हुन्छ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आरधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यो पूर्णिमालाई कौमुदी पनि भन्ने गरिन्छ।

कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दशैँ समाप्त हुन्छ, दशमीको पाँचौँ दिन सबै बलि पूर्ति गर्नुपर्ने शास्त्रीय विधान छ।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्ने प्रचलन छ। यसैगरी, सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु गरिन्छ। पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याएर आकाशदीप दान गर्ने प्रचलन छ। भगवान् विष्णुलाई समर्पण गरेर आकाशदीप दान बाल्ने गरिन्छ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ।

कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म २ दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ।

कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ। मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दु:ख दर्द नाश हुने विश्वासका साथ टाढा–टाढाबाट समेत दर्शनार्थीहरू आउने गर्दछन्।