नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा मधेशको विजयी सुरुवात

जनसम्मत
असाेज २३, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा आइतबार सुरु उदटन खेलमा मधेशले घरेलु गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटियो। गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्यो। अन्य, कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन्।

ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै ७ रन जोडिन्। अर्की ओपनर कुसुम गोदार पहिलो बलमा नै एलबीडब्लु धरापमा पर्दै पेवेलिएन फर्किइन्। ज्योत्सिना मरासिनी ५ रन जोडेर रन आउट बनिन्। कप्तान सृष्टि जैसी ३ तथा अञ्जली विश्वकर्मा र सीमाना केसी समान २ रनमा आउट बने। सुजिता थापा र श्रद्धा गुरुङ शुन्यमै आउट भए। मधेश प्रदेशकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिइन्। कविता गौतम र शान्ती चौधरीले समान २/२ विकेट लिए। सन्तोषी चौधरीले १ विकेट लिइन्।

त्यसअघि, पोखरा रगंशालाको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो। मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको बनाइन्।

सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे। साना प्रविन र एलिसा यादवले समान १४/१४ रन थपे। सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८/८ रन बनाए। गोमा आले १ रनमा आउट बनिन्। कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुन शुन्य रनमा आउट बने।

मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृती तिवारी एक्लैले ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १२ रन दिइन्। कुसुम गोदारले २ तथा सृष्टि जैसी र शिला क्षत्रीले समान १/१ विकेट झारे। खेलमा मधेशका अनुराध चौधरी ‘प्लेयर अफ द म्याच’ बनिन्।