नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीको सहज जित

जनसम्मत
असाेज २३, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा बागमतीले सूदूरपश्चिम प्रदेशमाथि ८ विकेटले सहज जित हात पारेको हो।

सूदूरपश्चिम प्रदेशले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्न सफल बन्यो।

बागमतीको जितमा कन्चन श्रेष्ठले २५ तथा सुमन खतिवडाले अविजित ११ रन बनाए। अस्मिता खरेलले ९ रन बनाइन्। आरती बिडारी ३ रनमा अविजित रहिन्। सूदूरपश्चिमका लागि यसु पाण्डेले १ विकेट लिइन्।

त्यसअघि, पहिले ब्याटिङ गरेको सूदूरपश्चिम १८ ओभर २ बलमा ६१ रनमा अलआउट बन्यो। सूदूरपश्चिमका लागि अनु कडायत र रुबी पोदारले दोहोरो अंक जोड्न सफल भए। अनुले २२ तथा रुबीले १२ रन बनाए। बागमतीका लागि सोनी पाख्रिनले ५ विकेट लिइन्। खुसी डंगोलले २ विकेट लिइन्।

महिला क्रिकेटमा ९ टोलीको सहभागिता छ। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन्।

समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेका छन्।

महिला क्रिकेट असोज १ कार्तिकसम्म चल्नेछ। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म आयोजना चल्ने । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइसकेको छ। पुरुष क्रिकेटमा विभागीय नेपाल पुलिसले स्वर्ण, विभागीय आर्मीले रजत र सूदूरपश्चिमले कास्य पदक जितिसकेको छ।