पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को तयारी

मेलाका लागि कार्यसम्पादन तथा विभिन्न उपसमितिहरुको गठन गरिएको छ

जनसम्मत
असाेज २२, २०७९, शनिबार

पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेलाको तयारी थालेको छ।

संघले आउँदो मंसीरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को घोषणा गरिसकेको छ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना हुन लागेको हो। कोभिड–१९ का कारण २ संस्करणको मेला स्थगित भएकाले यसपटकको मेलालाई विशेष बनाइने अध्यक्ष पवनकुमार प्रजापतीले बताएका छन्।

पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना हुने मेला सम्पन्न गर्न संघका अध्यक्ष पवनकुमार प्रजापतीको संयोजकत्वका कार्यसम्पादन समिति गठन गरिसकिएको छ। सो समितिको अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी संघका निवर्तमान अध्यक्ष नारायण कोइरालालाई दिइएको छ। स्टल निर्माण–व्यवस्थापन उपसमितिको संयोजक संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की छन्। सुरक्षा व्यवस्थापनको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी तथा प्रायोजक व्यवस्थापन वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सम्हाल्नेछन्। महासचिव बलराम आचार्यलाई प्रचार–प्रसारको जिम्मेवारी छ।

आर्थिक व्यवस्थापनमा संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, सांस्कृतिकतर्फ उपमहासचिव शोभा गौतम, पर्यटनमा कार्यसमिति सदस्य प्रभा सुवेदी, बालउद्यानमा कार्यसमिति सदस्य बालकृष्ण कोइराला र प्रकाशन तथा उपहार व्यवस्थापनमा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गलाई संयोजकको जिम्मेवारी प्रदान तोकिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार कार्यसमितिका सदस्यहरु भरत केसी, दीलिपकुमार श्रेष्ठ, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी र सुदीप ओझालाई क्रमश: स्वास्थ्य, मुलद्धार, खानेपानी तथा वातावरण, स्थानीय समन्वय तथा पार्किङ र टिकट व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ।

हस्तकला उपसमिति संयोजकमा बन्दना केसी कार्की, विद्युत तथा टेलिफोनमा रामप्रसाद कट्टेल, स्टल बिक्रीका लागि जीवनप्रकाश श्रेष्ठ, संघसंस्था व्यवस्थापनमा प्रेमप्रसाद सुवेदी, मञ्च व्यवस्थापन तथा बस्तुगत संघ समन्वयमा लेखनाथ सुवेदी, कृषि व्यवस्थापनमा लिलाधर चपाईं र उद्योग व्यवस्थापन उपसमितिमा युवकबहादुर बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु संयोजक रहेका समितिमा संयोजकले नै बाँकी सदस्य थप गर्ने महासचिव आचार्यले जानकारी दिएका छन्।