पोखरा आइपुग्यो नवौं राष्ट्रिय खेलकुद ट्रफी

ट्रफीलाई आज पोखरामा सार्वजनिक गरिदैं, महानगर परिक्रमा गराइँदै

जनसम्मत
असाेज २४, २०७९, सोमबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ अब, ४ दिनमात्र बाँकी छ।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल बनाउन प्रचार–प्रसारका लागि प्रतियोगिताको ट्रफी टुर गराइँदैछ।

प्रतियोगितामा सहभागी ७ वटै प्रदेशमध्ये ६ प्रदेश र ३ विभागीय मुख्यालय हुँदै अन्तिममा आयोजक प्रदेश गण्डकीको राजधानी पोखरामा ट्रफी आइपुगेको छ।ट्रफीलाई आज (सोमबार) पोखरामा सार्वजनिक र महानगर परिक्रमा अर्थात ट्रफी टुर गराइँदैछ।

आज विहान साढे ७ बजे पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम छ। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कृष्णचन्द्र ‘नेपाली’ पोखरेलले आज विहान ८ बजे ट्रफीलाई सार्वजनिक गर्ने कार्यक्रम छ। ट्रफी सार्वजनिक गरिसकेपछि मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा हुने आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे सम्बोधन गर्नेछन्।

त्यसपछि, मार्चपासहित ट्रफीलाई मानवअधिकारचोकबाट सुरु गरी न्युरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै पोखरा रंगशाला लग्ने कार्यक्रम छ।
मार्चपासमा राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल संघसंस्थाका पदाधिकारी तथा सदस्य, कर्मचारी, पाहुना र सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।

लगत्तै, खेल पदाधिकारी र विशिष्ट पाहुनासहित सवारी साधनमार्फत ट्रफीलाई पोखरा महानगर परिक्रमा गराइने कार्यक्रम छ। रंगशालाबाट ट्रफीलाई पोखरा नगर परिक्रमा गराइने कार्यक्रम छ। पोखरा रंगशालाबाट सुरु गरी बुद्धचोक, अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पृथ्वीनाराण क्याम्पस, बगरचोक, बागबजार चोक ठाडा लाइन, पुरानो टुँडिखेल, हरिचोक, विन्ध्यवासिनी मन्दिर, अधिकारी टोलको चोक, पुरानो खानेपानी काउन्टर, बागलुङ हाइवेस्थित, पस्र्याङ, मालेपाटन, जिरो किलोमिटर, हल्लनचोक हुँदै बाराही मन्दिरसम्म ट्रफी टुर गराइने कार्यक्रम छ।

त्यसपछि, बाराहीघाटचोकमा ट्रफीलाई राखिनेछ र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आसन्न नवौं राष्ट्रिय खेलकुदबारे सम्बोधन गर्ने कार्यक्रम छ।

हेर्नुहोस, ट्रफी सार्वजनिक कार्यक्रम र ट्रफी टुरको रुट