नवौं राष्ट्रिय खेलकुदः वर्षाले महिला क्रिकेटको खेल प्रभावित

डीएलए मेथडमा पुलिस ६३ रनले विजयी

जनसम्मत
असाेज २४, २०७९, सोमबार

नवौँ राष्टिय खेलकुुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय नेपाल पुलिसले विजयी सुरुवात गरेको छ।

पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो।

पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो। १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो। वर्षातका कारण बाँकी खेल खेलाउन संभव नभएपछि डीएलए मेथडअनुसार पुलिस क्लब ६३ रनले विजयी बनेको हो।

खेल रोकिनुअघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो। कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन्। दिव्या रानाले ३, करिश्मा राईले १ रन जोड्दा कर्णालीकी ५ जना शुन्य रनमै आउट बने। पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाय रोयले समान १÷१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो। मैदान भिजेका कारण ढिला शुरु भएको खेलमा ४ ओभर घटाइएको थियो।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्धतमा २५ रन बनाइन्। यसअघि, काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे। कविता र काजल दुवैले समान १६÷१६ रन बनाए। रेवती धामीले १४ रन बनाइन्। कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १÷१ विकेट लिए। खेलमा पुलिसका सम्झना खड्का ‘प्लेयर अफ द म्याच’ बनिन्।