राष्ट्रिय खेलकुदः महिला ह्याण्डबलमा गण्डकीको पहिलो जित

जनसम्मत
असाेज २५, २०७९, मंगलवार

महिला ह्याण्डबलः गण्डकीको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकीले पहिलो जित निकालेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो पहिलो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ३ अंक जोडेको छ। गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन्।
आइतबारको आफ्नो पहिलो खेलमा गण्डकीले एपीएफसँग २३–७ को फराकिलो अन्तरले हार व्यहोरेको थियो।

 

प्रदेश–१ को पनि दोस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको हो। पहिलो खेलमा सोमबार कर्णालीविरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अंक जोडेको छ। प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन्।

 

कर्णालीको जित दर्ता

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिल ह्याण्डबलमा कर्णालीले जित दर्ता गरेको छ।
समूह ‘बी’ मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा जित दर्ता गरेको हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको हो। कर्णालीकी अञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५÷५ स्कोर गरे।
जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ। मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ। मधेशले पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो। कर्णालीले पहिलो खेलमा प्रदेश–१ संग ४–२६ ले हार व्यहोरेको थियो।

 

पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।

बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ। लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो।