नवौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च लुम्बिनी लगिदैं

जनसम्मत
असाेज २६, २०७९, बुधबार

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिदेंछ।

ओलम्पिक टर्च आज (बुधबार) लुम्बिनी पुग्दैछ।

उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी लग्दैछन्। नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुग्नेछ। ओलम्पिक टर्च लैजाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी पाण्डे र भगवती केसी छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तरण गर्दै विदाई गरे।

सो अवसरमा कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, पुष्पराज ओझा लगायतको उपस्थिति थियो।

लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार बिहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिएका छन्। ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो।

सोही टर्च पोखरामा अर्को ५ सदस्यीय गण्डकीका टिकाबहादुर बोगटीसहितसहित गण्डकी प्रदेशका ज्ञानबहादुर बोहोरा, भगवती केसी, सिताराम शाही र राजेन्द्र भण्डारी टोलीलाई हस्तान्तर गरिनेछ।

उद्घाटनका दिन शुक्रबार सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराएर गण्डकीका जेष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदकविजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नेछन्।

राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। ७ प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टोलीका खेलाडीले ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेलमा प्रतिस्पर्धा गर्नेछन्।