राष्ट्रिय खेलकुदः पुलिस महिला क्रिकेटको शीर्षस्थानमा

जनसम्मत
असाेज २६, २०७९, बुधबार

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन्।

जितसँगै पुलिस क्लव सूुहको शीर्षस्थानमा पुगेको छ।

समूहमा सम्पन्न २ खेलमध्ये पुलिसले दुवैमा जित हासिल गर्दै ४ अंक जोडेको छ। बुधबारको खेलमा पुलिसले प्रदेश–१ माथि ११८ रनको फराकिलो जित निकाल्यो। पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १५८ रनको योगफल तयार पार्दा ‘प्लेयर अफ द म्याच’ समेत चुनिएकी सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक हानिन्। ४३ बलको सामना गरेकी सम्झनाले १० चौका प्रहार गर्दै ६० रन जोडेकी हुन्। पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षत्रीले १६ रन बनाए।

प्रदेश–१ को वलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका २ खेलाडी रनआउट भए। जितका लागि १५९ रन पछ्याउने क्रममा पूरै २० ओभर खेलेको प्रदेश–१ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो। जसमा क्याप्टेन सोनु राजबंशीले ११ रनको पारी खेलिन्। पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशीले समान १÷१ विकेट लिए।

बुधबारकै अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको छ। पहिला व्याटिङ गरेको लुम्बिनीले पूरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १२७ रन बनायो। लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्दतमा ३१, सरस्वती घर्तिमगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डीसीले १२ रन जोडिन्। कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षत्रीले १ विकेट लिइन्।

जितका लागि १२८ रन पछ्याएको कर्णाली मात्र २३ रनमा समेटियो। कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुग्यो। लुम्बिनीको बलिङमा ‘प्लेयर अफ द म्याच’ मधु डीसीले आफ्नो स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन्। त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन्। जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ।

प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशबीच पहिलो तथा मधेश प्रदेश र सुुदूरपश्चिम प्रदेशबीच दोश्रो खेल हुनेछ।