राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपीएफ र मधेश बिजयी

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपीएफ र मधेश प्रदेश बिजयी भएका छन्।

विहीबारको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएका हुन्।
विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ। पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै पूरा गर्न सफल बन्यो। एपीएफको तर्फबाट सीता रानामगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन्। इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडिन्।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा संपूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनैपनि खेलाडीले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन्। श्रृष्टि जैशीले बनाएको ५ रननै गण्डकीको सर्वाधिक रन बन्न पुग्यो।

एपीएफको बलिङमा ‘प्लेयर अफ द म्याच’ इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन्। त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले १/१ किवेट लिए। गण्डकीका श्रृष्टी जैशीले १ विकेट लिइन्।

जितसंगै एपीएफ समूह ए को शीर्षस्थानमा पुगेको छ। एपीएफले २ खेलमा २ जित हाँसिल गर्दै ४ अंक जोडेको छ।

विहीबार भएको दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै बिजयी भयो। पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल बनायो। ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश बिजयी भएको हो।

विहीबारको खेलमा मधेश प्रदेशका सना प्रविन ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। उनले मधेशका लागि ३५ रनको योगदान दिइन्। त्यस्तै, गोमा आलेले १० रन बनाइन्। मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान २/२ विकेट हात पारे।

सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए।