अग्रजको आशीर्वाद र युवाको साथ नै जितको आधार: गुरुङ

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

मृगौला  फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे।

कास्की प्रेदश सभा–२ ‘ख’की एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए।

उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए। अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले कहिलेकाँही देशको कायाकल्प गर्ने राजनीतिमा पैसाकै चलखेल हाबी हुनसक्ने भन्दै सतर्क बन्न आग्रह गरे।

उनले भने, ‘राजनीति पैसाको होइन, विचारको खेल हो। अचेल कौडा जस्तो बनाउन खोजिँदै छ।’

आफूलाई आशीर्वाद र सुझाव दिन जम्मा भएका आफ्नै टोलका ज्येष्ठ नागरिकसँग उम्मेदवार गुरुङले अग्रजको आशीर्वाद, सम्मान र युवाको साथ नै आफ्नो जितको आधार भएको बताइन्। उनले भनिन्, ‘ज्येष्ठ नागरिकको ईच्छा भनेको अग्रजको निर्देशन हो, लामो अनुभवको उपज हो। उहाँहरुको आशीर्वाद, सम्मान गर्दै युवाको आकांक्षा सम्बोधन गर्नु हाम्रो मुख्य जिम्मेवारी हो।’

गुरुङ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसद हुन्। गएको कार्यकालमा समानुपातिकबाट सांसद बनेकी आफूलाई पार्टी प्रत्यक्षका लागि योग्य ठहर्‍याएको जनाउँदै जनताले मंसीर ४ मा उत्कृष्ट तवरले अनुमोदन गर्ने अपेक्षा गरिन्।

एमाले पोखरा ११ का कार्यवाहक अध्यक्ष डा बुद्धिबहादुर थापाले गएको कार्यकालमा गरेको उत्कृष्ट काम र पार्टीका एजेन्डाले आफूहरुको जित पक्का भइसकेको बताए।

कास्की–२ ‘ख’मा उनका मुख्य प्रतिस्पर्धी काँग्रेसका विन्दुकुमार थापा छन्। कास्की–२ प्रतिनिधिसभामा एमालेले विद्या भट्टराई र सत्ता गठबन्धनबाट श्रीनाथ बराल मैदानमा छन्।