राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुदअन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।

गण्डकी प्रदेशले सुदुरपश्चिमलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

भलिवलप्रेमी दर्शकको भिडबीच भएको गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५–२२ को जित निकालेको थिए। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन्। सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिइन्।

महिला भलिबलमा ७ प्रदेश ३ विभागीय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका टीमको सहभागिता छ। शुक्रबार महिला भलिबल अन्तरगत ३ खेल हुँदैछन् ।

असोज २८ गते शुक्रबार बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनीबीच हुने महिला भलिबल प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिएका छन्।

महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए। खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकीसहितको र्‍याली निकालिएको थियो।