राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको बिजयी सुरुवात

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

गण्डकी प्रदेशको राजधानी पोखारमा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी सुरुवात गरेको छ।

पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए। २८ औं मिनेटमा कार्कीले नै दोस्रो गोल गर्दैै अग्रता दोब्बर बनाए। खेलको ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल थप्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाए।

उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश–१ बीच हुने भनिएपनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका थिए।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए। खेल क्षेत्रको समस्या पहिचान गरी यसलाई विकास गर्न लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ,‘ उनले भने, ‘खेलाडीको मनोवल उच्च राख्न सरकारले विभिन्न योजनाहरु बनाएको छ, विगतको जस्तो निराश हुने अवस्था छैन।’

उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले खेलाडीहरुलाई जितको शुभकामना दिए।