नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि

जनसम्मत
असाेज २८, २०७९, शुक्रबार

पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (शुक्रबार) देखि सुरु हुँदैछ।

२८ असोजदेखि ३ कात्तिकसम्म हुने प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको छ । पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ।

बिहीबार साँझ पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा आवश्यक तयारी पूरा भएको सबै जना प्रतियोगिता सम्पन्न गर्न एकजुट हुन राखेपले आह्वान गरेको छ।

प्रतियोगिता उद्घाटन समारोहमा सबै सहभागी टिमहरुले मस्कटसहित मार्चपास गर्ने छन्। सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशवाजी र मनोरञ्जनात्मक कार्यक्रमबीच उद्घाटनलाई भव्य बनाइन लागेको आयोजकले बताएको छ।

सातौं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्व्लन गर्नेछन्।

२०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएपछि करिब ४० वर्षपछि नै राष्ट्रिय खेलकुद पोखरामा फर्किएको हो। प्रतियोगितामा ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ विभागीय र १ गैर आवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले २ प्रदर्शनीका खेल र ३६ प्रतिस्पर्धी खेलका लागि प्रतिस्पर्धा गर्दैछन्। विजयी खेलाडी र खेलाडीका टीमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदकहरु हात पार्नेछन्।

प्रतियोगितालाई प्रदेशका सबै ११ जिल्लामा आयोजना गर्ने भनिएपनि मनाङ, मुस्ताङ र लमजुङमा भने कुनैपनि खेलको आयोजना गरिएको छैन। म्याग्दीमा महिला भलिबल र तेक्वान्दो, बागलुङमा आइटीएफ तेक्वान्दो, गोरखामा बुद्धिचाल, तनहुँमा महिला बास्केटबल, स्याङ्जामा महिला फुटबल, पर्वतमा कराते र नवलपरासीमा कुस्ती, सापाटाक्रोका खेलहरु हुनेछन्। अन्य खेलहरु पोखरामा नै हुनेछन्। केही खेलको नतिजा पनि आउने क्रम जारी छ। पोखरामा असोज २३ देखि महिला क्रिकेट, २४ देखि महिला/पूरुष ह्याण्डबल र फेन्सिङ, बिहीबारदेखि महिला/पुरुषको फुटबल, भलिबल र हक्की सुरु भएका छन्।