आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जित्यो

यो सिजनसँगै मुम्बई इन्डियन्सलाई सर्वाधिक चार उपाधि

एजेन्सी
वैशाख ३०, २०७६, सोमबार

इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि उचालेको छ ।

चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्यो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर क्वीन्टन डी ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले १५/१५ रन बनाए ।

बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २/२ विकेट लिए । १५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए ।

चेन्नईका लागि फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक(एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।