राष्ट्रिय खेलकुद: एथलेटिक्स, ७ इभेन्टका पदक छिनोफानो

जनसम्मत
असाेज २९, २०७९, शनिबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सका ७ इभेन्टका पदक छिनोफानो भएका छन्।

शनिबारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्टहरुमा पदक छिनोफानो भएको हो।

पोखरा रंगशालामा शनिबार सम्पन्न १५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी फुलमति रानाले स्वर्ण पदक जित्न सफल भए।

आर्मीका मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा निर्धारित दूरी पार गरे। एपीएफका अजित यादव र नागेश्वर अहिरले रजत र कास्य पदक जिते। अजितले ३ मिनेट ५३.११ सेकेन्ड र नागेश्वरले ३ मिनेट ५६.५ सेकेन्डमा उक्त दूरी पार गरे।

महिलातर्फ एपीएफकी फूलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पुरा गरेकी हुन्। रजत पदक जितेकी सरस्वतीले ४ मिनेट ४१.८० सेकेन्ड र आर्मीकी रेखा लिम्बूले ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्यपदक जिते।

सटपुटमा पुरुषतर्फ आर्मीका तिलक विक र महिलातर्फ आर्मीकै चन्द्रकला लामगादेले स्वर्ण पदक जिते। तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। वलीले रजत पदक जित्दा वाग्मती प्रदेशका ललित रावतले कास्य पदक जिते।

१०० मिटर दौडको पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलातर्फ आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जिते। शिवराजले आर्मीका युवराज वि.क.लाई हराउँदै स्वर्ण जितेका हुन्। युवराजले रजत पदक जित्दा आर्मीका डिल्ली भण्डारीले कास्य पदक जिते।

महिलातर्फ स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दूरी १२.१३ सेकेन्डमा पूरा गरिन्। सरस्वतीले स्वर्ण पदकसहित राष्ट्रिय कीर्तिमान समेत कायम गरेकी छन्। उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्। निशाले हिट चरणमा १२.१५ सेकेन्ड समय लगाएकी थिइन्। आर्मीकी रमिता थारुले कास्य जितिन्। रमिताले निर्धारित दूरी १२.९३ सेकेन्ड पार गरिन्।

बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। उनले ३६ मिनेट १९.३६ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्। राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गरेकी हुन्।

सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी समेत हुन्। एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी तेस्रो स्थानमा रहिन्।