राष्ट्रिय खेलकुद: गल्फमा बागमतीलाई ३ स्वर्ण

पुरुषतर्फ आर्मीका तामाङलाई स्वर्ण

जनसम्मत
असाेज २९, २०७९, शनिबार

नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुषतर्फको गल्फमा नेपाल आर्मीका सुवास तामाङले स्वर्ण पदक जितेका छन्।

पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई १ स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश–१ का युवराज भुजेलले कास्य पदक जिते।

समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो। समूह अन्तर्गत पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो। यस्ते एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये ३ स्वर्ण बागमतीले जितेको हो।

पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश–१ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ।

महिलातर्फको प्रतिस्पर्धामा बागमतीकी कस्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश–१ की सुष्मा सिग्देलले कास्य पदक जितिन्। महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश–१ ले रजत र गण्डकीले कास्य पदक जितेको छ।

समूह चरणको प्रतियोगिता अन्तर्गत महिला/पुरुष स्वर्ण विजेता टिमका खेलाडीले स्वर्ण सहित जनही १५ हजार रुपैयाँ पाएका छन।

व्यक्तिगततर्फका विजेताले स्वर्णसहित २५ हजार रुपैयाँ नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषदबाट पाएका छन्।