राष्ट्रिय खेलकुद: पौडीबाजहरु नयाँ रेकर्ड कायम गर्दै

जनसम्मत
असाेज २९, २०७९, शनिबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ।

१३ औँ सागमा १५ सय मिटर फ्री–स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगिताको १५ सय मिटर फ्री–स्टाइलमा १६ मिनेट ५०.२१ सेकेण्डमा दूरी पूरा गर्दै यसअघिको आफ्नै रेकर्ड व्रेक गरेका हुन्।

एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकेण्डमा पूरा गरेका थिए। १५ सय फ्री–स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन्।
आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा पूरा गर्दै यसअगाडि गौरीका सिहंको २ मिनेट ३२ सेकेण्डको कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल बनिन्।

पौडी प्रतियोगितामा २०३ जना खेलाडीहरुले सहभागिता जनाएका छन्।

२५ मिटर हिटदेखि १५ सय मिटर हिटसम्म हुने कार्यक्रमको आइतबार विहान ८ सय मिटर पौडी प्रतियोगताको फाइनल हुनेछ । ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुनेछन्। फ्री–स्टाइल, व्रेष्ट स्टोक, वटरफ्लाई, वटरफ्लाई व्याकस्टोक र आइएममा समूहका खेलाडीले पौडीमा प्रतिस्पर्धा गर्नेछन्।