राष्ट्रिय खेलकुद: साइक्लिङको डाउनहिलमा आर्मीलाइ २ स्वर्ण

जनसम्मत
असाेज २९, २०७९, शनिबार

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला तर्फ दुवै स्वर्०ा नेपाल आर्मीका खेलाडीले जितेका छन्।

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दूरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

त्यस्तै, बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दूरी पूरा गर्दै रजत र एपीएफका प्रचित थापामगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दूरी पुरा गरी कास्य पदक जित्न सफल भएका हुन्।

यता, महिलातर्फ पनि सोही दूरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन्। रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन्। खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्। त्यस्तै, २ मिनेट ४०.०९ सेकेण्डमा दूरी पूरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जितिन्।

शनिबार भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १/१ रजत जितेका छन्। त्यस्तै, गण्डकी प्रदेश र एपीएफले १/१ कास्य पदक जित्न सफल भए।

७ प्रदेश र ३ विभागीय गरि १० टिमबाट प्रतिस्पर्धा रहने साइक्लिङमा खेलाडीहरुले डाउन हिल, क्रसकन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्टमा प्रतिस्पर्धा गर्नेछन्। आइतबार पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्नेछन्।