राष्ट्रिय खेलकुद: तेक्वान्दोको पुम्सेतर्फको उपाधीमा पुलिसको वर्चस्व

जनसम्मत
असाेज २९, २०७९, शनिबार

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाको उपाधीमा नेपाल प्रहरीले वर्चस्व कायम गरेको छ।

पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ। महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ।

प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा स्वर्ण जिते। महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङले रजत, प्रदेश–१ की शुशिला राई र गण्डकीकी अर्पणा अधिकारीले कास्य जिते। पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश–१ का विवेक राईले कास्य जिते।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाको दीपेन्द्र गुरुङ र प्रशन्ना क्षत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणाा अधिकारी तथा प्रदेश–१ का विवेक राई र सुविक्षा राईले कास्य जिते।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर भाट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायतमगर, तिलक सिउथानीमगर र युकेश थापामगर तथा शसस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कास्य जिते।

टिम पुम्से महिलामा सेनाका स्वस्तिका तामाङ, निता गुरुङ, प्रशन्ना क्षत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, शसस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले कास्य जिते। योसँगै तेक्वान्दोको पुम्से विधातर्फको सबै खेल सकिएको छ।

गेरोगीतर्फ शनिवार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समुहको पहिलो चरणको खेल सकिएको छ। महिलाको ५३ केजी तौल समुहबाट सेनाकी गिता कडायत, लुम्बीनी प्रदेशका निलिमा मल्ल, प्रहरीका आयुशा लामा र शसस्त्र प्रहरीका अस्मिता खड्का क्वाटर फाइनलमा स्थान बनाएका छन्।

पुरुष ५८ केजी तौल समुहबाट मधेश प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र वोहोरा र सेनाका लोकबहादुर राउतले क्वार्टरफाइनल स्थान बनाएका छन्।