पोखराको फेवातालबाट जलकुम्भी झिकियो

जनसम्मत
असाेज २५, २०७९, मंगलवार

पोखराको फेवातालबाट जलकुम्भी झार झिकिएको छ।

तालमा जलकुम्भी फैलिएपछि सरसफाई अभियान थालिएको हो।

पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान संचालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। पोखराको ३३ वटै वडाले ३३ वटै स्थानमा सरसफाइको नेतृत्व लिएका छन्। वडा–वडाबाट सक्रिय आमा समूह, युवा क्लब, व्यवसायिक संघसस्था, राजनीतिक दलका नेतृत्व, टोल विका संघसंस्था, लायन्स क्लबलगायतका सामाजिक संघसंस्था सरसफाईमा सहभागी भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरसफाईमा सहभागी जनाए।

तालको मुहानतर्फ रहेको जलकुम्भी झार असोज महिना लागेसँगै हावा चल्ने र तालभरी फैलने गर्छ। लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ। जसको कारण ताल कुरुप बन्ने गरेको छ। सोही जलकुम्भी हटाउन महानगरले सरसफाई अभियान चलाएको महानगरका प्रमुख धनराज आचार्यले बताएका छन्।

आचार्यले जनसहभागीतामा काम गर्दा तालको संरक्षणमा थप मद्दत पुग्ने भएकाले सबै वडाबाट स्थानीयलाई सरसफाईमा सहभागी गराइएको बताए। तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने बताइएको छ।

सरसफाई अभियानमा सयौँको संख्यामा जनसहभागिता थियो। डुंगाको मद्दतमा तालमा रहेको जलकुम्भीलाई किनारमा निकालिएको थियो भने त्यसपछि लामवद्ध सहभागीले जलकुम्भी बाहिर निकालेका थिए। तालको बीच भागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको थियो।

सरसफाई अभियान बिहान ७ बजे सुरु भइ १० बजेसम्म चलेको थियो। संकलित फोहरलाई महानगरको फोहोर संकलन गर्ने गाडीमार्फत व्यवस्थापन गरिने महानगरले बताएको छ।