गण्डकी प्रदेशलाई इलाम आमन्त्रित पुरुष नकआउट भलिबलको उपाधि

गण्डकीका हरि पाण्डे म्यान अफ दि टुर्नामेन्ट घोषित

जनसम्मत
वैशाख ३०, २०७६, सोमबार

पोखरा । गण्डकी प्रदेशले प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

 इलाममा सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ द टुर्नामेन्ट गण्डकीका हरि पाण्डे घोषित भए । म्यान अफ द फाइनल बिर्तामोडका राजीव तमोर भए ।

सेमिफाइनलमा ताप्लेजुङलाई जितेर फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो । भारतीय खेलाडीले भरिएको बिर्तामोडमाथि अनुभवी टिम गण्डकीले सहज जित निकालेको थियो । राष्ट्रिय टिममा समेत अनुभव बटुलेका खेलाडीसहित उत्रिएको गण्डकीले खेलको पहिलो सेटदेखि नै बिर्तामोडलाई दबाबमा राख्यो ।

गण्डकी प्रदेशबाट सन्जुबिक्रम शाह (टिम कप्तान), राजन दर्लमीमगर, रबि सेञ्चुरी, सुजन चोखल, रुपिन्दै गैह्रे, हरि पाण्डे, कमल सुनार, काजी केसी र युवराज भण्डारी थिए ।

नवचेतना भलिबल टिम बरबोटेविरुद्ध सेमिफाइनलमा जित निकालेको बिर्तामोडले भने अपेक्षाकृत खेल पस्कन सकेन । यो टिममा पनि भारतको राष्ट्रिय लिग खेल्नेसहित अनुभवी खेलाडी थिए । जिल्ला भलिबल संघको आयोजनामा वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए ।