नवौं राष्ट्रिय : प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निसिम थापाको निधन भएको छ।

आइतबार विहान उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन्।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए। प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी थियो।

‘उडानलगत्तै, उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खस्न पुगे। जहाँ उनको निधन भयो।’

लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निसिम पोखरा–१० मा बस्दै आएका थिए। उनको घर भने गोरखा पालुङटार हो। उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआइका कम्पिटिशन वरीयताप्राप्त खेलाडी समेत हुन्।

अहिले उनको शव पोखरा–८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा छ। उनको निधनसँगै आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेलहरु रद्ध भएको आयोजकले जनाएको छ।