राष्ट्रिय खेलकुद: आइटीएफमा आर्मीलाई ७ स्वर्ण

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

बागलुङमा जारी आइटीएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी ७ स्वर्ण पदकसहित अग्रस्थानमा छ।

अहिलेसम्मको खेलमा बागमती प्रदेशले ३ र गण्डकीले १ स्वर्ण जितेको छ।

एकल प्याट्रनमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम राखेको हो। आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो।

पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो। महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुस्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन्। गण्डकीकी थापा रजत पदकमा सीमित बनिन्।

‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निस्मा बस्यालले रजत पदक जितेकी छन्। ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक जितेका छन्।

पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक जितेका छन्। गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए।

‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मसराङ्गीमगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढामगरले रजत पदक जिते।

प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले ३ र गण्डकी प्रदेशले १ स्वर्ण जितेको थियो।

‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याट्रनमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे। ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने।

‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रवीण बुढाले रजत पदक हात पारे। ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हासिल गरिन्। कुँवरले रजत जितिन्।

अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ। बागमतीले भने एकलमा २ र टिम प्याटर्नमा २ स्वर्ण हात पारेको छ। स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भएपनि समय नपुगेका कारण फाइनल खेल हुन सकेन।

आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुनेछ। शनिबारदेखि सुरु भएको आइटीएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट۫न र टिम प्याट्रनका खेल भइरहेका छन्।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमका २५० खेलाडी सहभागी छन्। आइटीएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन्। स्थानीय बाङ्गेचौर खेलमैदानमा प्रतियोगिता जारी छ।