कास्की-१ मा मुल चुनाव प्रचार–प्रसार समिति गठन

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि ५ दलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचार–प्रसार समिति गठन गरेको छ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचार–प्रसार समिति गठन गरेको हो। साथै बैठकले १९ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ।

मूल चुनाव प्रचार–प्रसार समितिको सह–संयोजकमा नेकपा (माओवादी केन्द्र) का विनय थापा, नेकपा (एकीकृत समाजवादी) का पूर्ण लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल समाजवादी पार्टीका दुर्गा गुरुङ र सदस्यसचिवमा नेपाली काँग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सचिवसमेत रहेका सरोज केसी छन्।

समितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रचार–प्रसारदेखि घरदैलोलगायतलाई तीव्र पार्ने काँग्रेसका क्षेत्रीय सचिव केसीले जानकारी दिएका छन्।

बैठकले आगामी कार्तिक १ गते पोखरा २६, संगमनगर कालिकाचोकमा सम्पर्क कार्यालय उद्घाटन, उम्मेदवार परिचयलगायत विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ। यस्तै, कात्तिक २ गते क्षेत्र नम्बर १ का गठबन्धनका ३० वटै वडा कार्यालयमा वडा निर्वाचन सम्पर्क कार्यालय गठन गर्ने छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कास्की–१ मा किशोरदत्त बराल, कास्की १ (१) मा माओवादी केन्द्रबाट दीपक कोइराला र कास्की १ (२) मा कांग्रेसबाट दीपक गुरुङ उम्मेदवार छन्।