अब, केही दिनसम्मलाई प्याराग्लाइडिङ उडानमै रोक

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशै भरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ।

प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेल सम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्।

प्रवक्ता निरौलाका अनुसार सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको हो।

प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुन: सञ्चालन अनुमति दिने निर्णय गरेको छ।

उडान खेलअन्तर्गत पर्ने प्याराग्लाइडिङमा पछिल्ला दिनमा दुर्घटना बढेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो।
आइतबार बिहान पोखराको साराङकोटमा नवौं राष्ट्रिय खेलकुद प्रतियगिता अन्तर्गतको प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा २६ वर्षीय खेलाडी निसिम थापाको मृत्यु भएको थियो।

पोखरा महानगरपालिका–१८ स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लू–स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात सय मिटर माथिबाट खस्दा थापाको मृत्यु भएको थियो। उनी नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका थिए।