नवौँ राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ बन्द

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेसँगै त्यसको विरोध र आलोचना सुरु भएको छ।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलमा सहभागी नेपाली आर्मीका निसिम थापाको दुर्घटनामा परि शनिबार ज्यान गएको थियो।

सोही दुर्घटनाको केही समयलगत्तै क्यानले देशभरि नै अनिश्चितकालीन रुपमा प्याराग्लाइडिङ उडानमा नै रोक लगाएको छ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले ‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको’ बताएका थिए।

दुर्घटनापश्चात शनिबार प्याराग्लाइडिङतर्फका सबै खेलहरु स्थगित गर्ने निर्णय पनि भइसकेको थियो। शनिबार खेल बन्द गरेपनि बाँकी खेल अन्य दिन सञ्चालन गर्नेबारे छलफल हुन नपाउँदै क्यानले प्रतिबन्धात्मक निर्णय गरेको हो। उक्त निर्णयपछि प्याराग्लाइडिङका बाँकी खेल अन्योलमा परेका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ समावेश गरिएको थियो।

नवौँमा यसले निरन्तरता पाएपनि खेलहरु सकिएका छैनन्। क्यानको निर्णयपश्चात चाहिँ क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी इभेन्टतर्फका खेल अब के हुन्छन ? भन्नेमा दुई मन्त्रालय जोडिन पुगेका छन्।

राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेललाई पनि समावेश गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको हो। सोहीअनुसार प्रतियोगिताअन्तर्गत २९ गतेबाट प्रतियोगिता सुरु भएको थियो भने मंगलबारसम्म पदकको छिनोफानो भइसक्ने थिए।

खेलकै क्रममा खेलाडीको निधनपश्चात अबका बाँकी खेल खेलाउने वा नखेलाउने भन्ने विषयको टुंगो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयबीचको निर्णयपश्चात मात्रै टुंगो लाग्नेछ।

क्यानले दुर्घटनापश्चात आफ्नो अधिकारक्षेत्र भन्दै अनिश्चितकालीन प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको प्याराग्लाइडिङ खेलसम्बद्ध निकाय र संस्थाहरुले विरोध गरेका छन् भने निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गरेका छन्।

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र राउतले क्यानको निर्णय पुनर्विचार गर्न र बाँकी इभेन्ट सञ्चालन गर्न भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई भेटेका छन्।
सदस्यसचिवसँगको भेटबारे बोल्दै राउतले भने, ‘सदस्यसचिव सँग बैठक गर्‍यौँ। उहाँहरुले अब के गर्ने भनेर सोध्नुभयो। हामीले क्रसकन्ट्री

रिस्की भएपनि अक्युरेसी चाहिँ कम रिस्कको गेम हो भनेर भन्यौँ। भोलि एकदिन रेस्ट गरेर पर्सिबाट चाहिँ बाँकी गेम खेलाउन सकिन्छ, यसमा जजहरु पनि रेडी हुनुहुन्छ भनेर भन्यौँ।’

सदस्यसचिव घिसिङ यसबारे सकारात्मक भएको उनले जानकारी दिए।

‘उहाँले चाहिँ क्यानको अप्रत्यासित निर्णयबारे आफ्नो विभागीय मन्त्रीसँग कुरा राखेर पर्यटमन्त्रीसँग कुरा गर्ने भन्नुभएको छ। हतारमा गलत रिपोर्टिङले त्यस्तो निर्णय भयो भन्नेबारेमा उहाँ आफू पनि कन्भिन्स हुनुहुन्छ,’ राउतले भने, ‘क्रसकन्ट्रीका खेल नखेलाउने, पहिलो दिन भएको खेलको आधारमा जजहरु बसेर त्यसलाई नै अन्तिम रुप दिने भन्नेबारेमा छलफल भएको छ।’

राउतका अनुसार अक्युरेसीका बाँकी इभेन्ट चाहिँ हुनेछन्।

उनी भन्छन, ‘हामीले राखेपले पहल गरोस भनेर भनेका छौँ। उहाँ सकरात्मक हुनुहुन्छ। हुन्छ, म कुरा गर्छु भन्नुभएको छ, गेम नरोक्नेमा उहाँ पनि सहमत हुनुभएको छ।’

यता, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव घिसिङले बैठक भएको र आफूले एकपटक क्यानको निर्णयबारे छलफल गर्ने बताए।
राखेप र संघबिच छलफल भएको हो। बाँकी खेल सञ्चालन हुनुपर्छ भनेर म कहाँ आउनुभएको थियो। यो खेल क्याबिनेटबाट डिसिजन भएको हो। त्यसकारणले सरकारको मातहत रहेको अर्को निकायले एउटा निर्णय गर्‍यो,’ उनले भने, ‘त्यो निर्णय वस्तुपरक थियो, थिएन आफ्नो ठाउँमा होला। उहाँहरुको निर्णयसहित सम्बन्धित निकायको नियमक मन्त्रालयसँग मेरो संवाद भइराखेको र गर्नेगरि मैले सोचेको छु।

मंगलबार नै विभागीय मन्त्री महेश्वर गहतराजसँग कुराकानी गरिी पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग छलफल हुने र क्यानको निर्णयबारे पुनर्विचार हुनसक्ने उनले संकेत गरे।

‘उहाँरुले बाँकी खेल खेलाऔँ, दुर्घटना चाहिँ मानिसको वसबाहिरको कुरा हो। खेलमा दुर्घटनाहरु पनि हुन्छन्। यसमा हाम्रो गहिरो दुख छ, तर खेल नै रोकिने भन्ने चाहिँ हुँदैन,’ भन्नुभएको छ। यसबारे मैले छलफल गर्ने सोचेको छु। त्यसपश्चात उहाँहरुको निर्णयमा केही पुनर्विचार होला,’ उनले भने।

संघका महासचिव राउत सहित प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले पनि क्यानको निर्णयलाई अप्रत्यासित भनेका छन्।

नीजि व्यवसायीहरुको सहयोगकै कारण अघिल्लो प्रतियोगितामार्फत देशको गरिमा राख्ने काम प्याराग्लाइडिङले गरेपनि क्यानको निर्णयले चाहिँ व्यवसायीहरु नै मारमा पर्ने उनी बताउँछन्।

‘उडान बन्द गर्ने निर्णय बेठिक हो। खेल खेल्ने क्रममा दुखद् दुर्घटना भयो। नहुनपर्ने भयो। तर, घटना घटिसकेपछि सबै उडान बन्द गर्नुपर्छ भन्नु भनेको त्यसको अन्त गर भनेजस्तो भएन र?’ उनको प्रश्न छ।

उनीपनि सदस्यसचिव घिसिङसँगको छलफलमा सहभागी थिए।

‘उहाँले हतासको निर्णय भयो, हाम्रो मन्त्रालयमार्फत पर्यटनमन्त्रालयबाट निर्णय सच्याउँछौँ भन्नुभएको छ,’ उनले भने।
बुधबारबाट खेल सुरु हुने उनको पनि भनाई छ।

प्याराग्लाइडिङभित्र खेल र व्यवसाय दुवै हुने भएकोले खेलमा दुर्घटना हुँदा त्यसलाई सुरक्षित गर्नेतर्फ राखेपले ध्यान दिनुपर्नेमा प्राधिकरणले व्यवसायलाई हस्तक्षेप गर्न नहुने उनको भनाई छ।

‘थप अनुसन्धान गर्न केहीदिन कुनै ठाउँमा रोक्नु फरक कुरा हो, तर, यहाँ देशैभर उडान रोकिएको छ, यो राम्रो होईन,’ उनले भने।

यता, क्यानका प्रवक्ता जगन्नाथ निरौलाले चाहिँ प्याराग्लाइडिङका बाँकी खेलको संभावना तत्काल नरहेको बताउँछन्।
‘अनियन्त्रित छाडेर मान्छे मार्दै जाने, अनि हामी हेर्दै जाने?’ उनले प्रश्न गरे।

तर, दुर्घटना चाहिँ यसअगाडि पनि भएका थिए नि भन्ने प्रश्नमा उनी भन्छन, ‘हो, दोहोरिरहेका छन। मुकदर्शक बसेर हेर्नुभएन नि त, हामीले। हिजो घटना घटेर रोक्ने निर्णय हुनुमा संयोगमात्रै हो। यसअगाडि पनि हामीले आन्तरिक छलफल, तयारी गरिरहेकै थियौँ। कसरी नियन्त्रणमा ल्याउने, व्यवस्थित गर्ने भन्नेबारेमा छलफल भएका थिए।’

तत्कालका लागि प्याराग्लाइडिङ उडान खुल्ने कुनै संभावना नरहेको उनी बताउँछन्।

‘तपाई हाम्रो मान्छे परेको छैन होला । तर, आफ्ना मान्छे पर्नेहरुलाई त पुस्तौँसम्म पिरोल्छ नि,’ उनले भने, ‘तत्कालका लागि प्याराग्लाइडिङ हुने कुनै संभावना छैन। रोक्का गर्ने भन्ने त प्राधिकरणले गरेको निर्णय हो। यसमा रहेका कमीकमजोरीको अध्ययन गरेर के गर्दा उपयुक्त हुन्छ, सो अनुसार अगाडि बढ्छौँ।’

हवाइ खेलका क्षेत्रमा रहेका कमजोरीबारे उडान रोक्ने, यसमा देखिएका कमजोरी केलाउने, नियम कानूनमा कमजोरी देखिए त्यसलाई पनि परिमार्जन गर्ने र रिभ्यु गर्ने, रिभ्युपश्चात मात्रै निर्णय हुनसक्ने उनले बताए।

यसमा अर्को पनि मन्त्रालय जोडिएको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘अर्को थप निर्णय भइसकेको छैन। भयो भने पछि नै थाहा होला।’