राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ क्रिकेटमा नेपाल पुलिस क्लवले स्वर्ण पदक जितेको छ।

मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ५ रनले पराजित गर्दै पुलिसले पहिलो सहभागितामै स्वर्ण जितेको हो।

पहिला व्याटिङ गरेको पुलिसले पूरै २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जितका लागि ९० रन पछ्याएको एपीएफले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन मात्रै बनाउन सक्यो। पुलिसको व्याटिङमा काजल श्रेष्ठले ५५ बलमा १ चौका प्रहार गर्दै २७ रन जोडिन्।

त्यस्तै, सम्झना खड्काले २५ बलमा १ चौका प्रहार गर्दै २१ रन बनाइन्। कविता जोशीले १० बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडिन्। एपीएफका बलरहरु नेरी थापा, इन्दु बर्मा, सिता रानामगरले समान १/१ विकेट लिए।

एपीएफका लागि रोमा थापाले १९ बलमा २ चौका प्रहार गर्दै २६ रन बनाइन्। राजमती ऐरीले १२ बलमा १ चौका हान्दै १२ रन जोडिन्।

पुलिसका बलरहरु ईश्वरी विष्टले २, रुविना क्षत्री, संगीता राई, हिरनमाई रोयले समान १/१ विकेट लिए। खेलमा नेपाल पुलिस क्लवका ईश्वरी विष्ट ‘प्लेयर अफ द म्याच’ बनिन् भने प्रतियोगिता अवधिभर ११ विकेट ३२ रन बनाएकी एपीएफकी नेरी थापा सर्वोत्कृष्ट खेलाडी बनिन्।

बागमतीलाई कास्य

बागमतीले महिला क्रिकेटको कास्य पदक जित्यो। यसअघि, तेश्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै कास्य पदक हात पारेको थियो। जितको लागि ८८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सक्यो।

बागमतीको लागि सुमन खतिवडाले विस्फोटक व्याटिङ गर्दै २१ बलमा ६ चौका र १ छक्कासहित ४१ रनको इनिङ खेलिन्। ओपनर अस्मिता खरेल ३२ बलमा २ चौका प्रहार गर्दै २० रनमा आउट भइन्। कञ्चन श्रेष्ठले २० बलमा १० जोडिन्।

लुम्बिनीको बलिङमा कृतिका मरासिनीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन्। सुस्मिता भुषालले १ विकेट लिइन्।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाइन्।

बागमतीको बलिङमा ‘प्लेयर अफ द म्याच’ विपिषा शाहीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिइन्। सोनी पाख्रिनले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। स्पिनर खुशी डंगोलले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिइन्।