गठबन्धनका उम्मेदवार विजयीउन्मुख : शर्मा

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भइसकेको बताएका छन्।

मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गरे।

नेता शर्माले व्यक्तिसँग भएको साधन, श्रोत र उर्जालाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्नु पहिलो प्राथमिकता गठबन्धनका उम्मेदवारले बोकेको समेत उल्लेख गरे।

प्रजातन्त्र, संविधान र समानतालाई दीगो बनाउन लागि परेको गठबन्धनका उम्मेदवारलाई मत हाल्न सवै मतदाता नागरिकलाई आग्रह गरे।

नेता शर्माले आ–आफ्ना समानुपातिकका उम्मेदवारहरुलाई भोट दिन आह्वान गरे। लेखनाथस्थित बुढीवजारमा रहेको सम्पर्क कार्यलय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री यज्ञबहादुर थापाले हिँजोको दिनमा तारानाथ रानाभाटले जितेको क्षेत्र मैलेसमेत जित्दा र माओवादीले २ पटक जितेको क्षेत्रमा हामीसँगै (गठबन्धन) लड्दा विजय निस्चित रहेको ठोकुवा गरे।

सभामा माओवादी केन्द्र कास्कीका अध्यक्ष राजकाजी गुरुङ (करण)ले पार्टीको निर्देशनलाई पूर्ण कार्यान्वयन गर्दै अघि बढेर सवै उम्मेदवारलाई विजयी गराउने जिम्मा हामी सबैको भएको बताए। सभामा नेकपा एसका नेता चुणामणि जंगलीले ५ दलीय गठबन्धन एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताए।

सभामा नेका कास्कीका सभापति एवं संघतर्फका उम्मेदवार किशोरदत्त बरालले विकास निर्माणलाई योजनाबद्ध ढंगबाट प्राथमिकता दिँदै ठूला र साना विकासलाई दीगो स्तरमा लैजान आफूहरुको योजना रहेको उल्लेख गरे।

उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताएका उम्मेदवार बरालले कृषि क्षेत्रबाट निर्यातको प्याकेज ल्याउन सक्ने बताए।
नेकपा माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पुर्व सांसद कास्की क्षेत्र नं १ (क) का उम्मेदवार दिपक कोइरालाले नेकपा एमालेले हारको मनस्थितिमा पुगेर झुटको खेती गरिरहेकोमा चिन्ता गरे।

प्रदेशमा भएको योजनालाई एमालेका उम्मेदवार खगराज अधिकारीले झुटको खेती गर्दै हिँडेकोमा चिन्ता व्यक्त गरे।

५ दलिय गठबन्धनका संयोजक राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको सभामा समानुपातिक उम्मेदवारहरुको तर्फबाट बोल्दै रुख चिन्हकी नेतृ सरस्वती गुरुङले हामीले गरेका कामहरुलाई संस्थागत गर्दै अघि बढ्ने प्रतिबद्धतासहित मतदातासँग मत मागिन्।

गुरुङले प्रदेश सरकारबाट भएको स्वास्थ्य क्षेत्रमा गरेको योगदान, शिक्षा क्षेत्रमा गरेको परिवर्तन, कृषि क्षेत्रमा दिएको योगदान अविस्मरणिय रहेको बताइन्। निर्धारित लक्ष्य पूरा गराउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने समय आएको कुरामा गुरुङले जोड दिइन्।

सदस्य सचिव सरोज कसीले सञ्चालन गरेको सभामा माओवादी केन्द्रका नेता कोमलनाथ बराल, विनय थापा, समाजवादीका नेता पूर्ण लामा, दुर्गा गुरुङ, जनमोर्चाका हरिप्रसाद बराललगायतले बोलेका थिए।