महिला सशक्तिकरण र समावेशी विकासका लागि उम्मेदवारी: मिना गुरूङ

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।

पोखरा–८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा काम गर्ने उल्लेख गरेकी छन्।

उम्मेदवार गुरूङले विगतमा एमाले नेतृत्वको प्रदेश सरकारले सुरु गरेका तर सरकारको फेरबदलका कारण पूरा हुन नसकेका विकास निर्माणका अधुरा योजना पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने प्रतिवद्धता जनाइन्।

उनले आफ्नो निर्वाचन क्षेत्र सबै हिसावले महत्वपूर्ण रहेकोले सो क्षेत्रको विकासको योजनासहित छिट्टै आफ्नो पार्टीको प्रतिवद्धता सार्वजनिक गर्दै सोही अनुरुप स्थानीयकै आवश्यकता र सुझावका आधारमा काम गर्ने बताएकी छन्।

गुरूङले आफू जहिले पनि जनताकै सेवामा लागेको उल्लेख गर्दै दोसो पटक पनि जनसेवाकै लागि उम्मेदवारी दिएको बताइन्। आफ्नो एक मात्र सपना विकास भएकोले त्यसका लागि कास्की २ (ख)का जनताले आफूलाई विजयी गराउने उनको विश्वास छ ।