तनहुँ म्याग्देका ८२५ जना ज्येष्ठ नागरिकलाई बाँडियो परिचय पत्र

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

तनहुँको म्याग्दे गाउँपालिकाले ८ सय बढी ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ।

गाउँपालिका कार्यालयले असोज १ देखि थालेको एकीकृत घुम्ती शिविरमार्फत ८ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो।

त्यसैगरी, शिविरबाट १० जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।

वडासम्म गएर सेवा लिन असमर्थ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए।

शिविरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवं परामर्श सेवा प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ। परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरवाट उपलब्ध गराइएको छ।

यसैगरी, घुम्ती शिविरमा बहिरङ सेवाअन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ। प्रयोगशाला सेवाअन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना संकलन, औलो रोगको परीक्षण हुनेछ। जन्म, मृत्यृ, बसाइँसराइ, एवं सम्बन्धविच्छेद लगायतका दर्ता गरिएको छ।

प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता, राजस्व संकलन, मालपोत तथा भूमिकर सङ्कलन तथा विभिन्न सिफारिस गरिएको छ। किसानलाई बीउबिजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण र नतिजाका आधारमा पशुपक्षीलाई औषधि वितरण, बाख्रा, पाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, योजना शाखाअन्तर्गत उपभोक्तासँग योजना सम्झौता गरिएको छ।

असोज ३० गते देखि कात्तिक ४ गतेसम्म हुने दोस्रो चरणको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका वडा नं ५, ६ र ७ मा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिएका छन्।