राष्ट्रिय खेलकुद: नेपाल प्रहरी टिम टेबलटेनिस च्याम्पियन

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

विभागीय नेपाल प्रहरी टिम नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा च्याम्पियन भएको छ।

पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो।

प्रतियोगितामा प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल बन्यो। बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै दोस्रो स्थानमा रह्यो।

त्यस्तै, बागमती प्रदेशले १ रजत र २ कास्य सहित तेस्रो बन्यो।

प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश–१ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन्।

बुधबार नै सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले हात पारेकी छिन्। पदक बिजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन्। प्रतिष्पर्धी खेलाडी दुवै नेपाल पुलिसका खेलाडी हुन्।।

एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक पाउन सफल भइन्।

यसैगरी, पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए।

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका थिए। एपीएफका रुविनले रजतमा चित्त बुझाए।

यसैगरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले काँस्य पदक हात पारे।

प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन्।