राष्ट्रिय खेलकुद: सडनडेथमा आर्मीलाई हराउँदै पुरुष फुटबलमा एपीएफलाई स्वर्ण

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा विभागीय एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै स्वर्ण पदक जितेको छ।

आर्मीले रजत पदकमा चित्त बुझायो। गण्डकी प्रदेशले कास्य पदक पायो।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो।

३० मिनेटको अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो।

एपीएफको जितमा गोरक्षक राजु नगरकोटी नायक बने। उनले २ पेनाल्टी प्रहारलाई बचाउ गर्दै टोलीलाई स्वर्ण दिलाए।

एपीएफका लागि नविन लामा, आभास लामिछाने, सुदिल सिख्राकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे। सनिस श्रेष्ठको प्रहार पोष्ट माथिबाट बाहिरियो।

आर्मीका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे।

आर्मीको सेसेहाङ आङदाम्बेको प्रहार राजुले बचाउ गरेपनि अघि बढेको भन्दै पुन: प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे।