सकियो नवौं राष्ट्रिय खेलकुद, दशौं राष्ट्रिय खेलकुद कर्णालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

औपचारिक रुपमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भब्य रुपमा सफलताका साथ सम्पन्न भएको छ।

गण्डकी प्रदेशका ८ जिल्लामा आयोजना गरिएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका हुन्।

अब, दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथि बनेका देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे।

यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए। परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो।

नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफी प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतीलाई प्रदान गरे। १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदकसहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पिन बन्न सफल भएको हो।

समापन समारोहबीच प्रतियोगिताका दौरान दुर्घटनामा परि निधन भएका पाराग्लाइडिङका खेलाडी निसिम थापाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो।

समापनका अवसरमा विविध साँस्कृतिक कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो। सो क्रममा भव्य आतिसबाजी समेत गरिएको थियो।