पोखरा महानगरद्वारा फेन्सी पसलहरुमा अनुगमन

जनसम्मत
कार्तिक ४, २०७९, शुक्रबार

पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ।

पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरेको हो।

अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरिक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र पत्रकारहरुको सहभागिता थियो।

पोखरामा खाद्यान्न, तरकारी, फुलफूल होटललगायतका क्षेत्रमा अनुगमन भएपनि फेन्सी पसलमा भने पहिलो हो। फेन्सी पसलमा ग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको महानगरपालिका उपोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिए।

अनुगनका क्रममा ब्यवसाय दर्ता विना संचालन भएका, दर्ता भएपनि नविकरण नभएको भेटिएको र खरिद विल नभएको फेला परेको सदस्यसचिव पौडेलले बताए।

‘केही पसल महानगर, घरेलु, आन्तरीक राजस्व कार्यालयमा दर्ता नभएको पाइयो।’

अनुगमनका क्रममा पोखरा ट्रेड मलभित्र संचालित २ पसललाई जरिवानासमेत गरेको छ । ग्लोजम कुर्था पसल र सुस्मिन एण्ड सुशान्त स्टोर्सलाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको हो। ग्लोजमले कपडा खरिद बिल नभएको र विना दर्ता संचालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिए।