गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुस: नेता नेपाल

जनसम्मत
कार्तिक ४, २०७९, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरेका छन्।

पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउनसमेत आग्रह गरे।

उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस्।’

अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताए। यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट समेत पारे। विपक्षी गठबन्धनलाई गणतन्त्र, संघीयता र लोकतन्त्र नपचेको अध्यक्ष नेपालको जिकिर छ। जनतालाई न्याय दिन, समानता स्थापित गर्न र देशलाई विकासको बाटोमा लैजाने काम गठबन्धनको सरकारले गरेको उनले बताए।

 

साझा मुद्दामा गठबन्धन एक छौं: नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पाँच दलीय गठबन्धनका कार्यदल संयोजक रामचन्द्र पौडेलले राष्ट्रिय आवश्यकताअनुसार दलगत सिद्धान्तबाट माथि उठेर साझा मुद्दामा गठबन्धन एक भएको बताए। संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि बनेको गठबन्धन संविधान र राष्ट्र विरोधी प्रतिगामी शक्तिका विरुद्धमा रहेको बताए। उनले त्यसलाई परास्त गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। गठबन्धन सरकारमा जाने मात्र नभई राष्ट्रको समृद्धि र विकासका लागि भएको उनको भनाई छ।