राष्ट्रिय खेलकुद: पोखरा महानगरद्वारा पदक विजेतालाई सम्मान

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

पोखरा महानगरले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा सहभागी भई पदक विजेता महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसीलगायतले ४१ जना पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्।

पोखरा महानगरवासी खेलाडीले हालसम्म ५ स्वर्णपदक जितेका छन् भने ५ रजत र ३ कास्य पदक जितेका छन्।

यी सबै प्रतियोगितामा सहभागी ४१ जना खेलाडीलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो। स्वर्ण पदक विजेतालाई समान नगद १५ हजार रुपियाँ (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद ५ हजार, रजत पदक विजेतालाई प्रतिपदक १० हजार (व्यक्तिगत) तथा समूहमा सहभागीप्रति खेलाडी नगद ५ हजार र कास्य पदक विजेता खेलाडीलाई प्रतिपदक नगद ५ हजारका दरले सम्मान गरेको हो।

हालसम्म पुरुष ह्यान्डबल (समूह), फुल कन्ट्याक्ट कराँतेका अभिषेक तामाङ र अनिश बुढा, बडी बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गर्नुभएका छन्।

यस्तै, फुल कन्ट्याक्ट कराँतेकै रूपक नेपाली र शिव भुजेलले कास्य पदक प्राप्त गरेका छन्। केही खेलमा सहभागी समूहले ५ रजत पदक प्राप्त गरेका छन्। प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने अन्य खेलाडीलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताइन्। पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमन्तप्रसाद आचार्यले शिक्षासँगै खेलकुद विकासका नियमित कार्यक्रम सञ्चालन गरिरहेको जनाए।