राष्ट्रिय खेलकुद: महिला हक्कीमा टाइब्रेकरमा आर्मीलाई स्वर्ण, गण्डकीलाई रजत

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ।

फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइब्रेकरमा आर्मीको लागि सीता कुमारि चौधरी, सरस्वती तामाङ, सीता माया बलले गोल गरे।

त्यसअघि, खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फ सरस्वती तामाङले १ गोल गरेकी थिइन्। त्यसको २ मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले १ गोल गरिन्। खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा सकिएको हो।

यस्तै महिला हक्कीमा प्रदेश–१ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ। तेस्रो स्थानको लागि भएको खेलमा सुदुरपश्चिमले २–० को गोल अन्तरले प्रदेश–१ लाई हराएको हो। सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरिन्। प्रतियोगितामा ७ टिम सहभागी थिए।