राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफलाई स्वर्ण

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा सशस्त्र प्रहरी बलको एपीएफले स्वर्ण जितेको छ।

वालिङ खेल मैदानमा आज (बिहिबार) भएको फाइनल खेलमा अर्को विभागीय नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो।

खेलको १० औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर टोलीलाई अगाडी बढाएकी थिइन्। खेलकोे ५२ मिनेटमा सावित्राले नै दोस्रो गोल थप्दै दोब्बर अग्रता बनाइन्।

७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले १ गोल गरिन्। योसँगै पुलिसले रजतमै चित्त बुझायो।

 

महिला फुटबलको कास्य पदक विभागिय आर्मीलाई

महिला फुटवलको कास्य पदक त्रिभुवन आर्मी फुटवल क्लबले जितेको छ।

त्रिभुवन आर्मीले ७–० गोल अन्तरले प्रदेश–१ लाई हराउँदै कास्य जितेको हो।

खेलको तेस्रो मिनेटमा आर्मीकी हिमा चौधारीले गोलको खाता खोलेकी थिइन।

खेलको ५ औँ मिनेटमा अमिषा कार्कीले अर्को एक गोल थप्दै गोल संख्या दोब्बर बनाइन्। खेलको ३५ औँ र ४१ औं मिनेटमा अमिषाले नै गोल गर्दै ह्याट्रिक पुरा गरिन्।

यस्तै, खेलको ४३ औँ मिनेटमा चन्द्रा भण्डारीे, ६१ औँ मिनेटमा गंगा गुरुङ र ७१ औं मिनेटमा कुसुम खतिवडाले समान १/१ गोल गरे।