कीर्तिमानी कामिरिता शेर्पाको सगरमाथा आरोहणमा अर्को विश्व रेकर्ड

२५ पटक सगरमाथाको चुचुरोमा पुगेपछि मात्रै विश्राम : कामिरिता

जनसम्मत सहकर्मी
जेठ १, २०७६, बुधबार

सोलुखुम्बु । कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखरमा सफल आरोहण गरेका छन् ।

यो सँगै कामिरिताले सगरमाथाको सर्वोच्च चुचुरोमा पुगेर आफ्नै कीर्तिमानलाई तोड्न सफलसमेत बनेका छन् । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धेरै पटक पुग्ने व्यक्तिहरुमध्ये कामिरिताले आफूलाई अग्रस्थानमा राख्न सफल भएका छन् ।

सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका अधिकारीहरुले जानकारी दिएका छन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक सगरमाथाको चुचुरोमा पुगेपछि विश्राम लिने बताएको संचार माध्यमहरुले बताएको छ ।

यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।