राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

कास्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ।

पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा रह्यो। दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले जित्यो। तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा एपीएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो। एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो। यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो।

नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।

बिहीबार नै कास्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो। पुलिसले दोस्रो र तेस्रो सेट क्रमश: २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कास्य हात पार्‍यो।

प्रतियोगिताका अधिकांश खेल ३–० मै टुंगिएका थिए। प्रतियोगिताअवधिभर कुनै खेल पनि ५ सेटसम्म पुगेन। भलिबलमा ३ विभागीय, ७ प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए।