राष्ट्रिय खेलकुद: टेनिसमा आर्मी च्याम्पियन

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसमा विभागीय नेपाली सेनाले ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ।

यसैगरी, गण्डकी प्रदेशले ३ स्वर्ण र २ कास्य सहित ५ पदक जित्न सफल भयो।

बागमती प्रदेशले ४ रजत र १ कास्य पदक जित्दा सशस्त्र प्रहरीले ३ रजत र १ कास्य पदक जित्यो।

नेपाल प्रहरीले १ रजत र ३ कास्य पदक जित्दा एनआरएनले १ रजतमा चित्त बुझायो।

यसैगरी, आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते।

पोखरा रंगशालाको टेनिस कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६,६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जिते। नेपालको पहिलो वरीयताका खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाए।

यसैगरी, महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै ईरा रावतलाई ६–१,६–६ सेटमा पराजित गर्दै स्वर्ण जिते। पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य जिते।

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते।

पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल शाहीको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ। गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते।

महिला युगलविधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाको जोडीले रजत पदक जितेका छन्। सेनाका ईशाश्री शाह र सुभाङ्गीलक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य जिते।

टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जिते। सेनाका अनिल शाही र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र ईशाश्री शाहको जोडीले कास्य पदक जितेका छन्।

टेनिसको टिम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन्। प्रतियोगितामा च्याम्पियन टोली तथा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे।