यस वर्षको यमपञ्चक सुरु, आज काग तिहार

यस वर्षको भाईटीकामा साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको छ

जनसम्मत
कार्तिक ६, २०७९, आइतबार

नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार आज (आइतबार)देखि सुरु हुँदैछ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। यो दिन काग तिहारका रूपमा प्रचलित छ। आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पंक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ।

तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ। कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ। घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ।

तिहारको तेस्रो तथा महत्वपूर्ण दिन लक्ष्मीपूजा हो। गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत बिहान गाईको र साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। कृषि व्यवसायमा गोरुले योगदान गरेको कदरस्वरुप तिहारको चौथो दिन गोरु एवं गोवद्र्धन पर्वतको प्रतीकको पूजा गरिन्छ।

नेपाल संवतको नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ। कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ।

तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरंगी टीका लगाइदिएर मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ।

कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् ।

नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।

यस वर्षको भाईटीकामा साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको छ।