पत्रकार श्रेष्ठलाई ड्यामसाइड बर्ष पुरस्कार प्रदान

जनसम्मत
कार्तिक ७, २०७९, सोमबार

पत्रकार एवं एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् ।

ड्यामसाइड क्लव पोखरा–१७ ले एभरेस्ट आवाज डट कमका सम्पादक एवं एभरेस्ट एफएमका प्रस्तोता तथा नेपाल पत्रकार महासंघ कास्कीका निबर्तमान अध्यक्ष श्रेष्ठलाई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।

आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रममा सम्मान प्रदान गरेको हो।

प्रमुख अतिथि पोखरा–१७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं निबर्तमान अध्यक्ष पदम ढकाल, छनौट समितिका संयोजक केशबराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले १५ हजार ५ सय ५५ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

यसअघि, सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानीत भइसकेका छन्।

 

तिहार विशेष सांस्कृतिक साँझ

ड्यामसाइड क्लवको आयोजनामा तिहार विशेष सांस्कृतिक साँझ–२०७९ सम्पन्न भएको छ।

पोखरा–१७ स्थित क्लवले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याऔं ’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो।

साँझ ९ बजेसम्म संचालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदीयमान कलाकार सौगात गुरुङ, नौलो बिहानी, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए।

२०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई नि:शुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए।