सगरमाथा आरोहण : यसरी बनाइन्छ सर्वोच्च शिखर जाने बाटो

यस पटक कामी शेर्पाको नेतृत्वमा आठजना ‘आइसफल डाक्टर’ को टोलीलाई हिमालमा बाटो बनाउने जिम्मा थियो

जनसम्मत, एजेन्सी
जेठ १, २०७६, बुधबार

पोखरा । सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ ।

त्यसभन्दा माथि आरोहीहरू स्वयंले बाटो बनाउँछन् । आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ । यस पटक कामी शेर्पाको नेतृत्वमा आठजना ‘आइसफल डाक्टर’ भनिने अनुभवी पर्वतारोही र पथप्रदर्शकको टोली हिमालमा बाटो बनाउने काममा खटिएको थियो । सो टोली आवश्यक सामग्री लिएर मार्च २ देखि काममा खटिएको थियो ।

कसरी सुरु हुन्छ बाटो बनाउने काम ?

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले सगरमाथा र अन्य हिमाललाई देवता मान्छन् । त्यसैले हिमालमा जानुअघि पूजापाठ गर्ने चलन छ । बाटो बनाउने टोलीका सदस्यहरू आफ्नो काममा कुनै बाधाव्यवधान नआओस् भनेर बौद्ध विधिबाट पूजापाठ गर्दै सगरमाथाको आधार शिविर पुग्छन् ।

त्यहाँ, उनीहरू उपयुक्त ठाउँ खोजेर शिविर बनाउँछन् । त्यसपछि पुन: क्षमायाचना र शक्ति माग्दै लामापूजा गर्ने गरिन्छ । भगवानको शिरमा पाइला राख्नु गल्ती भएको भन्दै लामापाठ गरी प्रत्येक आरोहण टोलीले क्षमायाचना गर्ने गरेको आइसफल डाक्टरहरूका संयोजक कामी शेर्पा बताउँछन् ।

बाटो कहाँबाट कसरी तयार गर्ने भन्नेबारे टोली संयोजकको सल्लाहबमोजिम टोली काममा खट्छ । डोरी र भ¥याङको प्रयोग गरेर बाटो बनाएपछि टोली आधार शिविर फर्किन्छ र तीन महिनासम्म त्यहीँ बस्छ ।

आरोहणका लागि अनुमति लिएका टोलीहरूको आरोहण अभियान सकिएपछि मात्र आरोहणका लागि टाँगिएका डोरी, भ¥याङलगायतका सामानहरू निकालेर मात्र टोली फर्किन्छ ।