आज भाइटीका, उत्तम साइत बिहान ११: ३७ बजे

जनसम्मत
कार्तिक १०, २०७९, बिहीवार

आज कार्तिक शुक्ल द्वितीया तिथि, अर्थात यमपञ्चक (तिहार) को पाँचौँ दिन आज भाइटीका पर्व।

आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्यप्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित मुहूर्तको समय उत्तम छ। राज्य संचालकले भने साइतमै टीका लगाउँदा उत्तम मानिन्छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले भने असोज ३१ गते नै विश्वका विभिन्न भूभागको भाइटीकाको उत्तम साइतबारे जानकारी गराइसकेको छ। समितिले विश्वका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको हो। साथै, समितिले भाइटीकाको दिन जुनसुकै समयमा लगाउन सकिने जनाएको छ। सबैभन्दा उत्तम साइतबारे मात्र जानकारी गराइएको समितिले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगादिने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

तिहारमा लगाउने टीकाको रंग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी ५ वटा उल्लेख गरिएको छ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

सोमबार लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।

बिहीबार दिनभर नै टीका लगाउन मिल्ने बताउँछन्। साइत नै खोज्नेहरूका लागि समितिले जुराएको समय हुन सक्छ तर टीकामा यही नै साइत हो भनेर कुर्नुपर्दैन। आफ्नो अनुकुलअनुसारको समयमा टीका लगाउँदा हुन्छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ। यस वर्ष कार्तिक ६ गतेदेखि यमपञ्चक सुरु भएको हो। कार्तिक ६ गते आइतबार कागतिहार, कार्तिक ७ गते सोमबार कुकुरतिहार र लक्ष्मीपूजा, कार्तिकक ८ गते मंगलबार गाईपूजा, कार्तिक ९ गते बुधबार गोवर्धन पूजा/म्हपूजा, र कात्तिक १० गते भाइटीका र किजापूजा परेको छ।

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?