‘परिणाम ल्याउने गरी सत्ता गठबन्धनको पक्षमा चुनावी माहौल सिर्जना गरौं’

जनसम्मत
कार्तिक ९, २०७९, बुधबार

कास्कीका सत्तारुढ गठबन्धनका नेताहरुले चुनाबी परिणाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा आउने गरी एकजुट बन्न आग्रह गरेका छन्।

सत्तारुढ गठबन्धन दलहरुको कास्की २(ख) को निर्वाचन सम्पर्क कार्यालयको भएको उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ दलका नेताहरुले आफ्ना नेता–कार्यकर्ताहरुलाई अनुरोध गरे, ‘गठबन्धनका उम्मेदवारहरुको पक्षमा नतिजा निकाल्न चुनाव प्रचार–प्रसारमा लाग्नुहोस।’

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गठबन्धन आजको आवश्यकता भएको औंल्याए।

शर्माले भने, ‘आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने गरी प्रचार प्रसारमा लाग्नुहोस। गठबन्धन हुँदा आकांक्षी कतिपय साथीहरुले टिकट पाउनुभएको छैन। सबैलाई टिकट दिनपनि अप्ठयारो परिस्थिति थियो। त्यसैले अब जसले टिकट पाउनु भएको छ। उहाँहरुलाई जिताउने दायित्व हामी सबैको हो।’

नेकपा माओवादी केन्द्रका कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले प्रतिगमनका बिरुद्ध वर्तमान गठबन्धन बनेको चर्चा गरे।

पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका गुरुङले भने, ‘मुलुक आत्मनिर्भर बनाउन र समुन्नत समाज निर्माणका लागि गठबन्धनका उम्मेदवारहरुलाई चुनाब जिताउनु पर्ने हाम्रो बाध्यता हो। आफ्नो क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार छैन भनेर गठबन्धनका अन्य उम्मेदवारहरुलाई भोट नमाग्ने गर्न हुँदैन। यदि, त्यसो गरिएमा गठबन्धनका उम्मेदवारहरु पराजित हुनसक्छन्। आम मतदाता र कार्यकर्ताहरु त्यसतर्फ सजग बन्नुहोला।’

कास्की –२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र समृद्धिका लागि प्रतिनिधि सभाको उम्मेदवारको रुपमा आफू चुनावी मैदानमा उभिएको बताए।

उनले भने, ‘आफू बिजयी भए संसदमा वितरणमुखी योजनाहरुभन्दा परिणाममुखी योजनाहरु बनाउने तर्फ मेरो ध्यान जानेछ।’

गठबन्धनको तर्फबाट गण्डकी प्रदेश सभा सदस्य पदका लागि कास्की–२ ‘ख’ बाट उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता एबं गण्डकी प्रदेशका वहालवाला कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफ्नो पार्टीका उम्मेदवारबाहेक गठबन्धनका अन्य उम्मेदवारहरुको पक्षमा भोट नमागिएमा समग्र रुपमा गठबन्धन पराजित हुन् सक्ने औंल्याए।

थापाले भने, ‘गठबन्धन भएर चुनाब लड्दा पनि हारियो भने लाजमर्दो हुनेछ। गत ५ वर्षमा गण्डकी सरकारले आवश्यक कानून निर्माण गरेको र विकास र समृद्धि अबको बाटो हो। शिक्षा, स्वास्थ्य, रोजगारीमा आमुल परिवर्तन ल्याउने उद्देश्य स्वरुप आफ्नोे उम्मेदवारी हो। कृषि, उद्यमशीलता, पर्यटन र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु।’

कार्यक्रमामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले नेकपा एमालेले संविधान च्यात्ने प्रयास गरेकाले संविधानको रक्षाका लागि गठबन्धन गर्नुपरेको उल्लेख गरे। उनले दल भन्दामाथि उठेर मतदान गर्न गठबन्धनका मतदातालाई आग्रह गरे।

कास्की–२ ‘ख’ निर्वाचन परिचालन संयोजक होमबहादुर बानियााको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, नेपाली काँगे्रसबाट प्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार विन्दादेवी राना, प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डे, नेकपा एकीकृत माओवादीबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार जुवेदा खातुनलगायत गठबन्धन दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।