एमाले उम्मेदवार कार्कीको योजना, ‘पोखरा २१ र ३३ लाई ग्रीन हिल सिटीको रुपमा विकास गरिन्छ’

जनसम्मत
कार्तिक १२, २०७९, शनिबार

नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका २ वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने बताएका छन्।

विगतमा सुरुवात भएका महत्वपूर्ण काम पूरा गर्ने र सो २ वडाको एकीकृत विकासमार्फत स्याङ्जा , कास्की र तनहुँको महत्वपूर्ण सुविधासम्पन्न ग्रीन हिल सिटीको रूपमा विकास गरिने भन्दै त्यसका लागि एमालेको बहुमतसहितको प्रदेश र केन्द्र सरकार आवश्यक भएको उल्लेख गरे।

आफ्नो निर्वाचन क्षेत्र कास्कीको दक्षिणी भेगमा पर्ने पोखरा २१ र ३३ का जनतासँग साक्षात्कार गर्ने क्रममा कार्कीले जनस्तरको सहभागितामा विकासका महत्वपूर्ण पूर्वाधारउन्मुख हुँदै गरेका सो वडाहरुका ग्रामीण क्षेत्रको समृद्धि पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरे।

कृषि र पर्यटनको प्रचुर विकासको संभावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिबवता छ।

हिँजोका आफ्नो पार्टीका निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रमा न्युनतम पूर्वाधारसहित स्याटेलाइट सिटी निर्माणको जग निर्धारणका लागि एकीकृत विकासको मोडल मुताविक सो अवधारणा अघि सारेको उल्लेख गरे।