विश्वप्रकाश लामिछाने भन्छन्, ‘कास्कीलाई समृद्ध बनाउने योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्’

जनसम्मत
कार्तिक १२, २०७९, शनिबार

कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको दाबी गरेका छन्।

पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा लामिछानेले भने, ‘कास्कीलाई समृद्ध बनाउने योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्।’

उनले विगतमा आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गरे।

उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पुर्‍याउन मत दिन आग्रह गरे।

उनले पोखराका ग्रामीण क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने जनाए।

गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले जितेपछि सधै मतदाताको शीर उच्च राख्ने गरी काम गर्ने बाचा गरे। पोखरा–२१ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने उनले प्रतिवद्धता गरे।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले गठबन्धनका उम्मेदवारले जनताको भावना बुझेर काम गर्ने उल्लेख गरे।

काँग्रेस कास्की–२ कका सभापति दिनेश आचार्यले देशमा बौद्धिक पलायनको समस्या रहेको भन्दै शिक्षामा उचित योजनाको खाँचो रहेको औंल्याए। नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार वृन्दा रानाले मुलुकका समस्या बुझेर अवस्थाअनुसार गठबन्धनले काम गर्ने बताइन्।

माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले विगतमा काम गरेको हेरेर विश्वप्रकाशलाई जिताउनुपर्ने बताए।

नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण थापा, एकीकृत समाजवादीका जिल्ला सल्लाहाकार पूर्णबहादुर थापा, नेपाली काँग्रेस क्षेत्र नं २ का सदस्य दुर्गा थापा, माओवादी केन्द्र २१ महिला संघ संयोजक देवी अधिकारी, पूर्णदीप सिग्देल, नेपाली काँग्रेस–२१ ईकाइ सभापति केवल गिरीलगायतले कार्यक्रममा बोलेका थिए।